काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानप्रति आस्था राख्दै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नो निवासको निरिक्षण पछि शनिबार विराटनगरस्थित निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले राष्ट्रपतिले संविधान जोगाउन ठूलो सावधानी अपनाएकाले अव निर्वाचनमा जानुको कुनै बिकल्प नरहेको बताउनुभयो ।
संविधान लिक बाहिर गए पनि यसको मूल मर्म सुरक्षित रहेको उल्लेख गर्दै कोइरालाले निर्वाचनमार्फत संवैधानिक मूल्य–मान्यता जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको धारणा राख्नुभयो ।
डा. कोइरालाले प्रतिनिधिसभा बिघटन संवैधानिक प्रावधान विपरीत भए पनि जेनजी आन्दोलनको भावना आत्मसात गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
डा. कोइरालाले जेनजी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाले आगजनी गरिएको घर इतिहास भएको भन्दै इतिहास जलेको देख्दा दुःख लागेको बताउनुभयो ।
पार्टी नेतृत्व परिवर्तन र आसन्न महाधिवेशनबारे सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले आफ्नो अडान पुरानै रहेको र उपयुक्त समयमा यसबारे स्पष्ट धारणा सार्वजनिक गर्ने जिकिर गर्नुभयो ।











