काठमाडौं, असोज ३ । भाटभटेनी सुपरमार्केटले १२ वटा स्टोर जलेर पूर्ण रुपमा ध्वस्त हुँदा पनि आफ्ना कुनै पनि कर्मचारी ननिकाल्ने भएको छ। धेरैले स्टोर जलेपछि कर्मचारी बेरोजगार हुन्छ भन्ने चर्चा चलाइरहेको बेला भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भने कर्मचारीलाई नहटाउने र पाउने सेवासुविधा कटौती नगर्ने स्पष्ट पारेका हुन्।
हाल भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको बताए।
भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्याइएको थियो। नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।











