काठमाडौं, भदौ ३० । जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ । तीमध्ये २७ जनाको शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ ।
प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ । फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । उनका अनुसार ती शवको पोस्टमार्टम गर्न लामो समय लाग्छ । अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने डा. चौधरीले बताए ।
उनका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्काको विवरण हेरेर पहिचान गरिने उनले जानकारी दिए ।
सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ- फिङ्गर प्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण । केही शव अत्यधिक जलेका कारण डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्छ । सरकारले जेन-जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।
यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् ।











