वासिङ्टन डीसी । अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूसँग फोनमा कुरा गरेका थिए । मिडिया रिपोर्टका अनुसार, यस कुराकानीमा ट्रम्पले युरोपेली नेताहरूलाई अगस्ट २२ सम्ममा पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग त्रिपक्षीय शिखर सम्मेलन गर्न चाहेको बताए ।
पुटिनलाई भेटेपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरेका थिए । यस कुराकानीमा, दुई नेता सोमबार वाशिङगटनमा भेट्न सहमत भएका छन् ।
युक्रेनी राष्ट्रपतिले सोमबार वाशिंगटनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आफ्नो भेटघाट सामाजिक सञ्जालमा साझा गरिएको पोस्टमा पुष्टि गरेका थिए । अमेरिकी अनलाइन मिडिया आउटलेट एक्सियोसका अनुसार, ट्रम्पले सोमबार ह्वाइट हाउसमा हुने बैठकमा युरोपेली नेताहरूलाई पनि उपस्थित हुन आमन्त्रित गरेका छन् ।
सोमबार जेलेन्स्की र ट्रम्पबिचको बैठकपछि त्रिपक्षीय शिखर सम्मेलन हुने अपेक्षा गरिएको जर्मन चान्सलर फ्रेडरिक मेर्जले शनिबार भनेका छन् । त्रिपक्षीय बैठकमा सामेल हुने बारेमा रुसबाट अहिलेसम्म कुनै जानकारी वा बयान आएको छैन ।
पुटिनसँगको भेटपछि ट्रम्पले युरोपेली नेताहरूसँगको वार्तामा शान्ति सम्झौताको प्रस्ताव राखेको अनि यस अन्तर्गत युक्रेनले डोनबास क्षेत्र रूसलाई हस्तान्तरण गर्ने रुसी समाचार एजेन्सी तासले अमेरिकी मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै भनेको छ । यसको बदलामा, युक्रेन र युरोप दुवैलाई सुरक्षा ग्यारेन्टी प्रदान गरिनेछ ।
अगस्ट १५ मा अमेरिकाको अलास्कामा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको थियो । दुई नेताहरूको भेटघाट लगभग तीन घण्टासम्म चल्यो । भेटपछि मिडिया अन्तरक्रियामा ट्रम्पले शिखर सम्मेलनलाई धेरै उपयोगी भएको बताए । एजेन्सी











