सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको दिगो विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य भएको बताएका छन।
बुधबार काठमाडौंमा आयोजित स्वावलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले लोकतन्त्र विकासका लागि उत्तम व्यवस्था भए पनि, राजनीतिक अस्थिरताले देशमा विभिन्न समस्या उत्पन्न गरिरहेको धारणा राखे
उहाँले ठूला राजनीतिक दलहरूबीचको सहकार्यले स्थायित्व कायम गर्न सकिने विश्वास व्यक्त गरे।
त्यस्तै मन्त्री गुरुङले देशभर छरिएका सानातिना उत्पादनलाई व्यवसायमुखी बनाउन सके मुलुक आर्थिकरूपमा माथि उठ्न सक्ने बताए।
कार्यक्रममा दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरिएको छ।
त्यस्तै, शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ।
यसैगरी, ५० हजार रुपैयाँ राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे, र आशा बुढामगर लाई प्रदान गरिएको छ।











