काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै विपक्षी दलहरूलाई राजनीतिक अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्। बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्थायित्वलाई अप्रिय ठान्ने दलहरूले मुलुकलाई अन्योलतर्फ धकेल्ने प्रयास गरिरहेको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थायित्व, सुशासन र आर्थिक सुधारका लागि गठन भएको प्रष्ट पार्दै आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण कायम रहने दाबी गरे। “अस्थिरताको जतिसुकै चाहना राखे पनि हामी स्थायित्वको मार्गबाट विचलित हुँदैनौं,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
उहाँले दुई प्रमुख दलहरूबीचको सहकार्यसहित अन्य दलहरूको समर्थनमा सरकार गठन भएको स्मरण गराउँदै लोकतन्त्रका लागि संघर्ष गर्ने शक्तिहरू संसदमा उपस्थित रहेको बताए। वर्तमान प्रणाली हाम्रो लागि ज्यानसरह प्रिय छ,उनले भने।
प्रधानमन्त्री ओलीले संसदमा अर्थहीन विषय उठाएर सरकारको कामबाट ध्यान हटाउने प्रयास भइरहेको आरोप पनि लगाए। “सदनले देश र जनताको हितमा काम गर्नुपर्ने हो, तर केहीले सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने प्रयास गरिरहेका छन्,”उनले टिप्पणी गरे।
सहकारी घोटालामा अदालतबाट धेरै दोषी थुनामा पठाइएका भए पनि, एक जनालाई राजनीतिक प्रतिशोधका रूपमा देखाउन खोजिएको प्रधानमन्त्रीको आरोप थियो। “भीडको दबाबमा न्यायको हत्या गर्न खोज्ने प्रवृत्ति स्वीकार्य छैन,” उनले चेतावनी दिए।
विदेश गएका र नागरिकता लिएका व्यक्तिहरूको विषयमा समेत प्रधानमन्त्री ओलीले धारणा राख्दै केही समूहले ‘सबै विदेश गएकाहरू बेचिएका हुन्’ भन्ने भ्रम सिर्जना गर्न खोजेको बताए। “यसमा मुलुकको हित होइन, व्यक्तिगत स्वार्थको रोटी सेक्ने काम मात्र छ,” उनको आरोप थियो।
पछिल्लो समय बहुबिवाहलाई कानुनी मान्यता दिने तयारी भइरहेको भन्ने चर्चा सम्बन्धमा प्रधानमन्त्री ओलीले स्पष्टिकरण दिँदै यस्तो कुनै योजना नरहेको बताए। “बहुबिवाहलाई कुनै हालतमा कानुनी मान्यता दिइँदैन,” उनले प्रष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकार गठनपछि विकास, समृद्धि, र नागरिक हितमा केन्द्रित कार्यक्रमहरू अगाडि बढाइएको बताए। समृद्ध नेपाल, सुखी नेपालीू को लक्ष्यप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै सबैलाई एकताबद्ध भएर देशको विकासमा लाग्न उले आग्रह गरे।











