काठमाडौं, साउन २५ । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन्।
बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध गरेका हुन्।
चाँगुनारायण नगरपालिका–९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो।
अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए। उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर साङ्गेतिक विरोध गरेको बताए।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक जगाति साँगा धुलिखेल सडक छ लेनमा विस्तार भइरहेकाले ‘च्यामासिंह–ताथली–नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको अध्यक्ष गिरीले बताए। तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामाङ्करण गरिएको छ।












