काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको बाँकी काम समयमै सम्पन्न गर्ने तयारीमा सरकार गम्भीर भएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले, विगतमा संसद भवन निर्माणमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै कामलाई तीव्र बनाइएको जानकारी दिएका हुन्।
उनका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सम्बन्धित निकायका पदाधिकारीहरूसँग पटक–पटक छलफल भइरहेको छ, र अब भूतपूर्व गल्ती नदोहोरिने गरी कामलाई अघि बढाउने तयारी गरिएको छ।
मन्त्री सिंहले संघीय संसद भवन राष्ट्रिय गौरवको परियोजना भएकाले यसको गुणस्तर, समय र लागतलाई विशेष ध्यानमा राखेर काम भइरहेको पनि स्पष्ट पारे।












