काठमाडौं, असार २९ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक बर्ष समग्रमा मिश्रित रहेको बताउनुभएको छ ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता महतले वर्तमान सरकारको एक बर्षमा जनताको आवश्यकता र अपेक्षा पूर्ण रुपमा पुरा हुन नसकेपनि केहि राम्रा कुराहरु भएको बताउनुभएको हो । डेलिभरी र सुशासनका क्षेत्रमा वर्तमान सरकार अझ बढि गम्भीर भएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।
उहाले सरकारले आफ्ना संयन्त्रलाई मजबुद गरि जनताको सेवामा ध्यान दिदै काम गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा प्रश्न उठ्न नदिने गरि सरकारले आफ्नो काम कारवाहीलाई अघि बढाउनुपर्ने उहाको भनाइ छ ।
त्यस्तै महतले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका बिषयमा गहिराईमा गएर हेर्नुपर्ने धारणा राख्नुभयो । पदको दुरुपयोग हुने ठाँउ राख्न नहुने भन्दै उहाले यस बिषयमा सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिनुभयो ।









