एयर इण्डिया विमान दुर्घटना : जीवित उद्धारको सम्भावना कम, अध्यक्ष चन्द्रशेखरनको समवेदना

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लण्डन उड्ने क्रममा टेक अफ लिएको केहीबेरमै आकासमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ ।

विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ ।

यसैबीच एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन् ।

उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन् ।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्