२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार १ बजेका लागि सारिएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि सवा ३ बजेका लागि सूचना टाँस गरेर सारिएको भए पनि संसद चल्ने वातावरण नहुँदा भोलिसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहे नरहेको छानबिन गर्न छानबिन समिति बनाउनुपर्ने र सो समितिलाई सघाउन मन्त्रीले राजीनामा गर्नुपर्ने भन्दै प्रतिपक्षीले संसद बैठक अवरोध गर्दै आएका छन् ।
सभामुख देवराज घिमिरेले बुधबार नै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सत्तापक्ष र प्रतिपक्षको अडानबाट पछि नहटेपछि सहमति हुन सकेको थिएन ।
प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा मागिरहँदा सत्तापक्षले गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्र अरु विषयमा कुरा हुने अडान राखेको छ ।












