२७ जेठ, काठमाडौं । भोजपुरकाे षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन्। चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन्।
षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन्। यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ। नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ।
“चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनमा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ। अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने।
तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए। आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए।
चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ। गत वर्ष चिराइतो विक्रीबाट सात लाख आम्दानी गरेको उनले बताए।












