२७ जेठ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक र वित्त नीति सन्तुलित बनाउन सके मात्रै अर्थतन्त्र अगाडि बढ्न सघाउ पुग्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा क्लिकमाण्डुले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
‘मौद्रिक नीति र वित्त नीति एउटाले रोक्ने र अर्काले खोल्ने होइन भनेर राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबाट व्यक्त विचार सही छ। दुई निकायबीचको समन्वयमै अर्थतन्त्र अगाडि बढ्ने हो। सरकार पनि यस दिशामा अगाडि बढिरहेको छ।’
अर्थमन्त्री पौडेलले मौद्रिक नीतिको सन्दर्भमा सबैतिर केही प्रश्न उठ्ने गरेकाले थप छलफल आवश्यक रहेको धारणा व्यक्त गरे।
‘मौद्रिक सुशासनका विषयमा हामीले कहाँ र कसरी काम गर्नुपर्छ भन्ने विषयमा छलफल हुनुपर्छ।। मौद्रिक नीति र वित्त नीति, राष्ट्र बैंक तथा अर्थ मन्त्रालय र गभर्नर तथा अर्थमन्त्रीको सम्बन्धका विषयमा हाम्रोमा धेरै प्रश्न उठ्ने गरे पनि त्यसलाई सन्तुलन गरेर लग्छु’, अर्थमन्त्रीले भने।











