काठमाडौं, १२ बैशाख । आवासीय चिकित्सकहरूले आफ्नो माग पूरा नभएको भन्दै आज आकस्मिक र सघन उपचार सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका छन्। नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै देशभरका चिकित्सकहरूलाई अनावश्यक सेवा बहिष्कार गर्न आह्वान गरेको हो।
चिकित्सकहरूले लामो समयदेखि उठाउँदै आएको निर्वाह भत्ताको माग अझै पूरा नहुँदा, तथा विभिन्न स्थानबाट धम्कीपूर्ण व्यवहार भइरहेको भन्दै उनीहरूले आन्दोलन चर्काएका हुन्।
काठमाडौं उपत्यकाका चिकित्सकहरू आज बिहान ११ बजे माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने तयारीमा छन्। उपत्यका बाहिर रहेका चिकित्सकहरूलाई भने आफ्ना जिल्लाका प्रशासन कार्यालयहरू घेराउ गर्न संघले निर्देशन दिएको छ।
संघले अत्यावश्यक सेवा बाहेक अन्य सबै स्वास्थ्य सेवा प्रभावित हुने स्पष्ट गर्दै सरकारलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ। चिकित्सकहरूको आन्दोलनका कारण सर्वसाधारणको नियमित स्वास्थ्य सेवा प्रभावित हुने देखिएको छ।









