तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

खबर बुक
  • ख-
  • ख+

१९ चैत, काठमाडौं ।तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनको तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो। 

गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए। महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो। सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ। 

ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन्। ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत उनले जनाए।

यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ। दुई दशकअघि देखि गुरुङसँग परिचित रहेको बताउने उनले यसले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको बताए।  यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनकरूपमा ग्राण्डमास्टरका नामले सम्बोधन गरिन्छ।

नेप्लिज तेक्वान्दो महासंघका अध्यक्ष दीपक खड्काले समेत तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताए। ४०/४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिकरूपमा तन्दुरुस्त हुनुपर्ने भएकाले पनि यो प्राप्त गर्नु अत्यन्तै कठिन रहेको उनको भनाइ थियो।

२०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आर्ट्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए। त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए। सेनाबाट अवकाश लिइसकेपछि पनि उनी निरन्तर तेक्वान्दोमै सक्रिय रहे।सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ दर्ता गरेका थिए। त्यसयता उनको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्