काठमाडौं, १ ५ चैत । राजतन्त्र माग गर्दै सडक प्रदर्शन उत्रिएका राजावादीहरु प्रहरी झडपपछि कार्यक्रम स्थल छाडेर बाहिरिएका छन्।
निषेधित क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वर आउन खोज्दा राजावादीमाथि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि राजावादीहरु तितरबितर भएका छन्।
प्रहरीले कार्यक्रम स्थलमा अश्रुग्यास प्रहार गरेपछि नेताहरु बाहिरिएको राप्रपा प्रवक्ता सगुन लावती बताए।
प्रहरीले आन्दोलनकारी निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ। राजावादीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओली र लोकतन्त्रविरोध नारा लगाइरहेका छन्।
कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
प्रहरीमाथि ढुंगामुढा गरेका राजावादीले तीनकुनेमा स्थानीय व्यक्तिका घर पनि तोडफोड गरेका छन्। अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ।











