काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले केपी ओली नेतृत्वको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभएको छ ।
बुधबार रुपन्देही क्षेत्र नं.२ मा लोकतान्त्रिक वामगठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले केपी ओली नेतृत्वको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभएको हो । गृहमन्त्री खाँणले सत्तागठबन्धन लोकतन्त्र,संविधानको रक्षाको लागी बनेको बताउदै यो गठबन्धन पवित्र भएको जिकिर गर्नुभयो । उहाँले यो गठबन्धनले देशको विकास,सम्वृद्धि चाहेको बताउदै औद्योगिक विकास,नागरिकलाई रोजगारीको वातारण सिर्जना गर्न पनि गठबन्धनले जित्नुपर्ने औल्याउनुभयो ।
गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने दाबी गर्नुभयो । उहाँले स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताउनुभयो । रुपन्देही क्षेत्र नं.३ का प्रतिनीधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका खाँणले ओली नेतृत्वको अप्राकृतिक तालमेलले देशलाई दुघर्टना तर्फ लैजान सक्ने बताउदै सबैलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले विकासको हावादारी गफ लगाएर सम्वृद्धि नहुने भन्दै रुपन्देहीलाई आर्थिक केन्द्रको रुपमा विस्तार गर्न गठबन्धन र आफु प्रतिबद्ध रहेको तर्क गर्नुभयो ।
सम्मेलनमा बोल्दै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर सूर्यवंशी थापाले क्षेत्रको विकासको लागि गठबन्धन प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले रुपन्देही क्षेत्र नं।२ का जनताले विष्णु पौडेलको विकल्प खोजेकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।