पछिल्लो पाँच महिनामा प्रहरीद्वारा सवा दुई अर्ब राजस्व संकलन

खबर बुक
  • ख-
  • ख
  • ख+

२२ पुस, काठमाडौं ।नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व संकलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख राजस्व संकलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड सात लाख, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख राजस्व संकलन गरिएको उनको भनाइ थियो ।

त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख अवैध काठ बरामदबाट एक करोड २० लाख राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

साउनदेखि मंसिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट ९२ लाख बढी राजस्व संकलन गरिएको अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्