काठमाडौं , पुष ५ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा अब फाइनल खेल मात्र हुन बाँकी छ।
उपाधिका लागि फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्डबिच भोलि (शनिबार) महाभिडन्त हुँदैछ। पहिलो सिजनमै भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी नीशमदेखि इंग्ल्याण्डका रवि बोपाराजस्ता स्टार खेलाडीहरुको सहभागिताका कारण पनि एनपीएल सुरुवातदेखि नै चर्चामा रह्यो।
लिगको बीचमा वेस्ट इण्डिजका महान् क्रिकेटर ब्रायन लाराको आगमनले एनपीएलको उचाइ थप चुलियो। योसँगै विभिन्न पुरस्कारका कारण पनि एनपीएल चर्चामा छ। एनपीएलको पहिलो संस्करणको च्याम्पियनले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। लिगमा ‘सर्वोत्कृष्ट’ हुने खेलाडीले कार उपहार पाउने छन् । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक व्यावसायिक लिगमा खेलाडीलाई कार दिन लागिएको हो।
एनपीएल अन्तिम चरणमा पुगेसँगै कार जित्नसक्ने खेलाडीबारे अनुमान गरिन थालिएको छ । क्यानका अनुसार यसपालि लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले ओमाडा कम्पनीको ६२ लाख मूल्य पर्ने कार उपहार पाउने छन्।
दीपेन्द्रसिंह ऐरी
एनपीएलमा कार उपहार पाउने सम्भावित खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी शीर्षस्थानमा छन्।
कीर्तिमानी अलराउन्डर ऐरी जारी एनपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन। व्यक्तिगत मात्र नभई उनको कप्तानीमा रहेको टिमले पनि राम्रो नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिमले लिगमा कुल ८ म्याच खेल्दा सातमा जित र एक खेलमा मात्र हार बेहोरेको छ । उसले अधिकांश खेलमा एकतर्फी जित निकाल्यो।
सुदूरपश्चिमको सानदार प्रदर्शनमा ऐरीको भूमिका अहम् छ । उनले अलराउन्ड प्रदर्शन गरिरहेका छन् । दीपेन्द्रले ८ म्याचमा १६२।६८ को स्ट्राइक रेटमा २ सय १८ रन बनाएका छन्। त्यसक्रममा उनले एक अर्धशतकीय पारी खेलेका छन्। बलिङमा पनि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले ६ इनिङ्समा ६।४२ को इकोनमीमा ८ विकेट लिएका छन्। यस्तै, फिल्डिङमा पनि दीपेन्द्रको प्रदर्शन तारिफयोग्य छ। उनी अब फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेर टिमलाई उपाधि दिलाउन र आफू कार जित्ने सोचमा छन् ।
ललितनारायण राजवंशी
कार जित्ने दौडमा फाइनल प्रवेश गरेको जनकपुर बोल्ट्सबाट एनपीएल खेलिरहेका स्पिनर ललितनारायण राजवंशी पनि छन्। जनकपुरको जितमा अहम् भूमिका खेलिरहेका उनी सर्वाधिक विकेटकर्ताको सूचीको पहिलो सूचीमा छन्।
ललितले विराटनगरविरुद्ध खेल्दै एनपीएलमा डेब्यू गरेका थिए । उक्त खेलमा उनले २८ रन दिएर तीन विकेट लिए । यस्तै, ललितले दोस्रो खेलमा कर्णालीविरुद्ध १६ रन दिएर एक तथा तेस्रो खेलमा पोखराविरुद्ध ३१ रन दिएर तीन विकेट लिए । चौथो खेलमा १३ रन दिएर एक विकेट लिएका उनी पाँचौं खेलमा सुदूरपश्चिमविरुद्ध भने विकेटविहीन बने । त्यस खेलमा ललितले बिनाविकेट ३२ रन दिए।
छैटौँ खेलमा भने उनले सानदार प्रदर्शन गरे । उनले काठमाडौंविरुद्धको उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ८ रन मात्र दिएर तीन विकेट लिए । सो खेलमा ललित ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
यस्तै, लिग चरणको अन्तिम खेलमा चितवनविरुद्ध उनले ११ रन दिएर २ विकेट लिए । क्वालिफायर वानमा सुदूरपश्चिमविरुद्ध ललितले ४ ओभरमा ३७ रन खर्चेर एक विकेट हात पारे ।
क्वालिफायर–२ मा उनले राम्रो कमब्याक गरे । कर्णालीविरुद्ध यस खेलमा उनले ४ ओभरमा २२ रन दिएर दुई विकेट लिए । टिम फाइनल पुगिसकेकाले ललितसामु अझ उत्कृष्ट प्रदर्शन गरेर कार जित्ने प्रतिस्पर्धालाई बलियो बनाउने मौका छ ।
रोहितकुमार पौडेल
एनपीएलमा कार जित्ने दौडमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि छन्। टिम तालिकाको पुछारमा रहे पनि उनको व्यक्तिगत प्रदर्शन सानदार रह्यो । लिग चरणमा रोहित सर्वाधिक रन बनाउने सूचीको पहिलो नम्बरमा छन्।
उनी कम खेलमा २ सय रन कटाउने खेलाडी हुन् । रोहितले ७ खेलमा २ अर्धशतकको मद्दतमा १३१।६० को स्ट्राइक रेटमा २ सय ७९ रन बनाए । उनी एनपीएलमा उच्च स्कोर बनाउने नेपाली ब्याटर हुन्।
रोहित दुई खेलमा शतक नजिक पुगेका थिए । उनले पोखराविरुद्ध ५९ बलमा १० चौका र ४ छक्कासहित ९५ तथा चितवनविरुद्ध ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८० रनको सानदार इनिङ खेले ।
ब्याटिङमा मात्र होइन रोहितले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले ६ इनिङ्समा ५।६३ को इकोनमीमा ८ विकेट लिए । व्यक्तिगत प्रदर्शन हेर्ने हो भने रोहित कार जित्नलायक छन्।











