काठमाडौं, मंसिर २७ । चार महिनामा रेमिट्यान्स आप्रवाह सवा ५ खर्ब रुपैयाँ भित्रिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो।
तथ्यांकअनुसार खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो।











