१९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं ,  मंसिर २२ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटको उपाधिका लागि भारत र बङ्गलादेशले खेल्ने भएका छन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले पाकिस्तानलाई र दोस्रो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

बङ्गलादेशले पाकिस्तानलाई ७ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बङ्गलादेशले २२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ३७ ओभरमा १ सय १६ रनमा अलआउट भयो ।

यस्तै अर्काे खेलमा भारतले श्रीलङ्कालाई ७ विकेटले हरायो । श्रीलङ्काले दिएको १ सय ७४ रनको लक्ष्य भारतले १ सय ७० बलअघि नै मात्र ३ विकेट गुमाएर भेटायो । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४६ ओभर २ बलमा १ सय ७३ रनमा अलआउट भयो । फाइनल खेल भोलि आइतवार हुनेछ ।

एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भइरहेको पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्