काठमाडौं, मंसिर १८ । मंगलबार उच्च उतारचढावबीच सेयर बजारमा १७ अंकको वृद्धि आएको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा पुगेको छ।

आज कारोबारको पहिलो १० मिनेटमै नेप्से उच्च अंकले बढेर २७९२ बिन्दुसम्म पुगेको थियो। त्यसपछि घट्दै नेप्से एक बजे २७५२ बिन्दुसम्म खुम्चिएको थियो। सो बिन्दुबाट उकालो लागेर नेप्से २ बजेर २६ मिनेटमा २७८२ बिन्दुसम्म पुगेपनि फेरि घट्दै २७७५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा बन्द भएको थियो। मंगलबार सूचक बढे पनि कारोबार रकम घटेको छ। मंगलबार नेप्सेमा कुल ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो कारोबार दिन सोमबार कुल १० अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।











