गरिमा विकास बैंकको ‘गरिमा रोड रेस’ सम्पन्न, साढे ६ सय धावक सहभागी 

खबर बुक
  • ख-
  • ख
  • ख+

९ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले १८औं वार्षिकोत्सव अवसरमा आज आयोजना गरेको गरिमा रोड रेस प्रतिस्पर्धा सम्पन्न भएको छ। कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेसको खुलातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ प्रतियोगिता आयोजना गरिएको थियो।

खुलातर्फको १० किमि दूरी प्रतिस्पर्धा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बूढानीलकण्ठ नगरपालिकाको गणेशचोक पुगेर पुनः लाजिम्पाटमा समापन भएको थियो। यस्तै, कर्पोरेटतर्फको ५ किमि दूरीको स्पर्धा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपालचोक पुगेर पुनः लाजिम्पाटमै  समापन भएको थियो।

६५० बढी धावक सहभागी प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचांै स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ। 

उक्त अवसरमा बैंक सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य, प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले कार्यक्रम उद्देश्य र बैंक अध्यक्ष श्यामप्रसाद बस्यालले दौड आयोजनाले स्वस्थ जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बैंकले गरेको ५ किमि र १० किमि दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए। 

बैंकले मिति २०८१ कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप फुटबल फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टिमविरुद्ध प्रतिगोल  १ लाखको दरले नगद पुरस्कार दिने घोषणा गरेअनुसार उक्त खेलमा १ गोल गरेकाले १ लाख नगद पुरस्कार राष्ट्रिय महिला फुटबल टिम प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।

बैंकले वार्षिकोत्सव अवसरमा देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरिएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्