फिन इलेक्ट्रोटेक सुरु, निजी क्षेत्रलाई उत्पादनमा जोड दिन उपप्रधानमन्त्री सिंहको आग्रह 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , २९ कात्तिक । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले निजी क्षेत्रलाई उत्पादन क्षेत्रमा जोड दिन आग्रह गरेका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन गर्दै उनले उत्पादनक्षेत्रलाई प्राथमिकतामा राख्न सुझाएका हुन्।

‘‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो। नेपालको कुल गाहस्र्थ उत्पादनमा ह्रास भइरहेको छ। यसलाई अभिवृद्धि गर्न उत्पादन क्षेत्रमा हामीले जोड दिनुपर्ने हुन्छ,’ उपप्रधानमन्त्री सिंहले भने। अहिले क्लिन इनर्जीको आवश्यक्ता बढ्दै गएको भन्दै उनले उत्पादन क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए। त्यसमा नेपालमै बनेको सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए।

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिररहेको भन्दै उपप्रधानमन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको धारणा व्यक्त गरे। ‘निजी क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ। यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेनैछन् भन्न चाहन्छु,’ उपप्रधानमन्त्री सिंहले भने, ‘तपाईंहरुले एक्जिबिसन हलको कुरा गर्नुभयो। आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल चाहियो। आवश्यक्ताअनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडि बढाउँछौं।’ 

आजबाट सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मंसिर २ सम्म चल्नेछ। प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना, प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुका साथै उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदानप्रदान गरिनेछ। प्रदर्शनीमा २८ वटा स्टल र हल बाहिर पनि २६ स्टल रहनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्