काठमाडौं, कार्तिक २५ । सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंक अर्थात् २.३३ प्रतिशतले बढेर २७३८.०६ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन बुधबार नेप्से १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा थियो भने मंगलबार पनि नेप्से ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा सीमित भएको थियो।
आइतबार सूचकसँगै कारोबार रकममा पनि उच्च उत्साह देखिएको छ। आज नेप्सेमा कुल ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये २२८ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको घटेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आइतबार गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र सुपर माडी हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा अन्य छ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
यस्तै, समाज ग्रोथ फन्डको सेयर मूल्य भने सर्वाधिक अर्थात् ६.७६ प्रतिशतले घटेको छ।
आइतबार जलविद्युत समूहको सेयर मूल्यमा भने चमक देखिएको छ। जलविद्युत समूहको सेयर मूल्य ४.२६ प्रतिशतले बढ्दा बैंकिङ समुहको सेयर मूल्य २.७१ प्रतिशतले बढेको छ।











