बुधबार पनि सेयर बजार २६०० बिन्दुमै सीमित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, कार्तिक २१ । बुधबार पनि सेयर बजार २६०० बिन्दुमै सीमित भएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा रोकिएको हो। अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा रोकिएको थियो। 

खासगरी, पछिल्लो समय नेप्से २६०० बिन्दु भन्दा माथि चढ्न र सो बिन्दुबाट तल झर्न पनि सकेको छैन। नेप्सेका अनुसार पछिल्लो ११ कारोबार दिनमा नेप्से ११ दिन नै २६०० बिन्दुमै अड्किएको छ। कात्तिक १ गते बिहीबार २७४५.३६ बिन्दुमा रहेको नेप्से त्यस यता हरेक कारोबार दिनमा २६०० बिन्दुमै पुगेर रोकिएको छ। 

त्यसअघि, असोज ३० गते बुधबार नेप्से २७४२.८८ बिन्दुमा रहेपनि सो भन्दा अगाडिको पाँच कारोबार दिनमा पनि नेप्से बन्द हुने समयमा २६०० बिन्दुमै पुगेर बन्द भएको थियो। नेप्से २६०० बिन्दुमा रहने उक्त क्रमले आज पनि निरन्तरता पाएको छ भने सूचकमा एक अंकको मात्रै गिरावट देखिएको हो। 

यद्यपि, बुधबार कारोबार रकममा भने वृद्धि भएको छ। आज नेप्सेमा कुल ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ४ अर्ब ११ करोडको कारोबार भएको थियो। 

बुधबार कारोबारमा आएकामध्ये १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्