काठमाडौं, कार्तिक १४ ।। तिहार बिदा अघिको अन्तिम कारोबार दिन बुुधबार सेयर बजार १४.४३ अंकले घटेर बन्द भएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४३ अंक अर्थात ०.५३ प्रतिशतले घटेर २६७७.६२ बिन्दुमा रोकिएको छ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा रोकिएको थियो। अब अन्य बिदा नभएमा सेयर बजार पाँच दिनपछि अर्थात् कात्तिक २० गते मंगलबार खुल्नेछ।
बुधबार सूचकसँगै कारोबार रकम पनि घटेको छ। आज नेप्सेमा कुल ५ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार मंगलबार भने नेप्सेमा कुल ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएका मध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ५ कम्पनीको सेयर मुल्य भने स्थिर छ।











