काठमाडौं, कातिक ८ । सेयर बजारको ओरालो यात्राले बिहीबार पनि निरन्तरता पाएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.२५ अंकले घट्दै २६२७.१४ बिन्दुमा खुम्चिएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा रोकिएको थियो।
मंगलबार नेप्से २५.८८ अंकले बढेको भएपनि त्यसअघिका दुई कारोबार दिन पनि नेप्से लगातार घटेको थियो। बिहीबार सूचकसँगै कारोबार रकम पनि घटेको छ।
आज नेप्सेमा कुल ५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका मध्ये ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको भने घटेको छ। त्यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर छ।











