काठमाडौं, कार्तिक ४ ।। नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर (झन्डै १८ अर्ब ९ करोड) रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
साथै, विश्व बैंकबाटै नेपाल प्रकोप प्रतिरोधी विकास नीति अन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर (झन्डै २० अर्ब १२ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो ।
चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा नेपालको सार्वजनिक ऋण ८८ अर्ब रुपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आवको शुरूमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा साउनदेखि असोजसम्ममा ८८ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक तथा बाह्य ऋण थपिएको हो ।
सरकारले आफ्नो लक्ष्यअनुसार खर्च जुटाउन सार्वजनिक ऋण उठाउने गरेको छ । पछिल्लो दशक अत्यधिक मात्रामा सार्वजनिक ऋण बढेको छ । असोजसम्ममा नेपालको सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव २३ प्रतिशत हो ।











