३ कात्तिक, काठमाडौं ।पर्साको वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिने अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व संकलन गरेको छ। कार्यालयले चालू आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व संकलन गरेको हो।
सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा राजस्व संकलन २५ करोड ८४ लाख ११ हजारले कमी भएको बताए।
उनले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थ आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको जानकारी दिए। कार्यालयले चालू आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गरेको छ।
त्यस्तै, चालू आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गरेको छ।
त्यस्तै चालू आवको तेस्रो महिना अर्थात असोजमा भने मासिक लक्ष्यको ९० दशमलव ३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व संकलन गरेको छ।
सुख्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्म १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व संकलन भएको थियो।











