विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब पुग्यो, १४ महिनाको आयात धान्न पुग्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असाेज २९ । विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब पुगेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति १ खर्बभन्दा बढीले वृद्धि हुँदा साढे २१ खर्ब पुगेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको तथ्याङ्क अनुसार गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५।५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ।

विदेशी विनियम सञ्चिति निरन्तर वृद्धि भएको र आयातमा वृद्धि नहुँदा सञ्चिति पर्याप्तता सूचक पनि बढ्दै गएको छ। आव २०८१/८२ को दुई महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको छ।

२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्