काठमाडाैं, असाेज २९ । चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ६३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड र साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको हो । गएको वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।
यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७६ हजार चार सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ जना रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ७४ हजार चार सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३२ हजार चार जना रहेको थियो ।











