८ असोज, काठमाडौं । दुई महिनाको अवधिमा १६ सय विद्युतीय गाडी नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ)मा १६०२ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षको अवधिमा कार जिप र भ्यान गरी कुल ३ अर्ब ८२ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो। उक्त गाडी आयातबाट सरकारले २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा को सोही अवधिमा भने २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ बराबरको ८९८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको विद्युतीय गाडीको संख्या ७०४ युनिटले बढी हो।
गत वर्षको सोही अवधिमा भित्रिएका ८९८ युनिट गाडीबाट सरकारले १ अर्ब १२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।











