काठमाडौं, भदाै १९ । दुई दिन २८०० बिन्दुमा अडिएको सेयर बजार पुनः २७०० बिन्दुमा झरेको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९०.७३ अंक अर्थात् ३.२० प्रतिशतले घटेर २७३९.४६ बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से ६.९० अंकले बढेर २८३०.१६ बिन्दुमा बन्द भएको थियो भने सोमबार १२७.३२ अंकले बढेर २८२३.२५ बिन्दुमा बन्द भएको थियो। यसअघि भदौ ९ गते आइतबार नेप्से २८९४.५७ बिन्दुमा थियो। त्यसपछिको तीन कारोबार दिनमा नेप्से २७०० बिन्दुमा र एक कारोबार दिन २६०० बिन्दुमा रोकिएको थियो।
अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकममा पनि गिरावट आएको छ। आज नेप्सेमा कुल १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन मंगलबार भने कुल १३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ।











