११ भदौ, काठमाडौं । कर्मचारीको मर्यादाक्रमका आधारमा तलब बढाउन सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध सरकारले पुनरवलोकनको निवेदन (भ्याकेट) दिएको छ।
मंगलबार सरकारले महान्यायाधिवक्ताको कार्यालयमार्फत कर्मचारीको तलब बढाउन नसकिने भन्दै सर्वोच्चमा फैसला पुनरवलोकनको निवेदन दर्ता गराएको हो।
सर्वोच्चले २०८१ असार १० मा निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको तलब बढाउने गरी समायोजन गर्न सरकारलाई आदेश दिएको थियो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलबमान बढाउन परमादेश दिएपछि सरकार पुनरवलोकनमा गएको हो।
आदेश पुनरवलोकन गर्न माग गरिएको निवेदनमा तलब स्केल निर्धारण गर्दा सरकारी निकायका सम्पूर्ण सेवामा कार्यरत कर्मचारीको तलब समायोजन गर्नुपर्ने भनिएको छ। यसो गर्दा करिब तीन लाख सरकारी कर्मचारी तथा शिक्षकका लागि ९२ अर्ब ८४ करोड रुपैयाँ थप आवश्यक पर्ने व्यहोरा अर्थ मन्त्रालयको अध्ययन प्रतिवेदनले औंल्याएको छ।
२०८० पुस २६ गते निजामती सेवाको सहसचिव, उपसचिव र शाखा अधिकृत स्तरका कर्मचारीले २०७९ साउन १ गतेदेखि लागू हुने गरी सरकारले निर्धारण गरेको तलबमानमा असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।











