२८ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे किसानलाई जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार मल आपूर्ति र वितरणलाई पारदर्शी बनाउनेबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कल सेन्टर स्थापना गरिएको हो।
कृषकले मन्त्रालयमा स्थापित कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर ०१–४२११४७६ मा कार्यालय समयभित्र फोन गरेर नजिकका मल बिक्रेताको विवरण प्राप्त गर्न सक्नेछन्।
टोल फ्री नम्बरमा सम्पर्क गरेर नजिककै डिलरले प्राप्त गरेको मलको कोटासम्बन्धी विवरण र उक्त डिलरले प्रत्येक दिन बिक्री गरेको मलको विवरणसमेत प्राप्त गर्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।











