२७ साउन, काठमाडौं ।आँखुखोला जलविद्युत् कम्पनीले १५० प्रतिशत अर्थात् हालको १०० बराबर थप १५० कित्ताका दरले हकप्रद सेयरका लागि आवेदन खुलाएको छ ।
हाल चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासनबाट १ अर्ब २० करोड थप गर्न लागेको हो। साउन १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले यो हकप्रद सेयर भर्न पाउनेछन्।
बिक्री प्रवन्धक नविल इन्भेस्टमेन्ट बैंकिङले सार्वजनिक सूचनामार्फत हकप्रद निष्कासनबारे जानकारी गराएको हो। आवेदन भदौ १६ गतेसम्म खुल्ने छ।
कम्पनीले हाल ८.४ मेगावाटको आँखुखोला १ आयोजना संचालन गरिरहेको छ। हकप्रद निष्कासनबाट प्राप्त रकमबाट ४० करोड रुपैयाँ बैंकको दीर्घकालीन ऋण तिर्ने कम्पनीले जनाएको छ।
८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावरद्वारा प्रवद्र्धित आँखुखोला २ जलविद्युत् आयोजनामा ६० प्रतिशत सेयर स्वामित्व कायम हुनेगरी स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ। निर्माणाधिन यस आयोजनामा प्रतिमेगावाट लागत १९ करोड ५७ लाख अनुमान गरिएको कम्पनीले जनाएको छ।











