२१ साउन, काठमाडौं ।सेयर बजारमा एक घण्टामै ७ अर्ब बढीको कारोबार भएको छ। सोमबार कारोबार खुलेको एक घण्टामै बजारमा ७ अर्ब बढीको कारोबार भएको हो। १२ बजेर ९ मिनेटसम्म बजारमा कुल ७ अर्ब ५१ करोडको कारोबार भएको छ।
यस समयसम्म सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०९ अंकले बढेर २७५६.७१ बिन्दुमा रहेको छ। यद्यपि, ११ बजेर ३ मिनेटमै नेप्से २७९४.२५ बिन्दुसम्म पुगेको थियो। समाचार तयार पार्दासम्म नेप्सेमा कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मुल्य भने स्थिर छ।
कारोबार सुरु भएको एक घण्टासम्म रुरु जलविद्युत परियोजना लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। सिटी होटलको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ।
सोमबार वित्तीय विवरण खराब आएका संस्थाको सेयर मूल्यमा गिरावट आएको छ। नाफामा गिरावट आएको नेपाल फाइनान्सको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ। यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ५.८४ प्रतिशत र हिमालयन लघुवित्त कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।











