काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेसी विनिमय सटहीमा नयाँ व्यवस्था गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सामान आयात, वैदेशिक रोजगार तथा विदेश भ्रमण, लगान फिर्ता लैजान र वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि विदेशी मुद्रा सटहीको सीमा परिमार्जन गरेको हो।
नयाँ व्यवस्थाअनुसार हालसम्म मालसामान आयातमा ६० हजार अमेरिकी डलर रहेको सीमा १ लाख डलर गरिएको छ। व्यवसायीक प्रयोजनका लागि सुनचाँदी आयातका लागि ३ लाख डलर गरिएको छ भने व्यवसायीक प्रयोजनमा चाँदी आयातको भुक्तानीका लागि भने सीमा हटाइएको छ। वाणिज्य बैंकले आयात गर्ने मासिक सुनमा १ किलोग्रामको दायरा हटाइएको छ। बैंकले ३ लाख डलरसम्म सुन आयात गर्न सक्ने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले यसअघिसम्म वैदेशिक रोजगारीमा जानेलाई ५ सय डलरको सटही सुविधा १ हजार गरेको छ। विदेश भ्रमणमा एक आर्थिक वर्षमा २ पटक मात्रै डलर सटही गर्न पाउने व्यवस्था खारेज गरेको छ। अब विदेश भ्रमणमा जानेले हरेक पटक २५ सय अमेरिकी डलर सटही गर्न पाउँछन्।
राष्ट्र बैंकले विदेशी लाभकर्ता (बेनिफिसरी) लाई भुक्तानीमा सटहीको सीमा ३५ हजारबाट ५० हजार डलर, विदेशी सेवाको भुक्तानी १५ हजारबाट २५ हजार डलर कायम गरेको छ। वैदेशिक रोजगार व्यवसायीलाई विदेश भ्रमण तथा कार्यक्रममा सहभागी हुन जाँदा ३० हजार डलरसम्म सटही गर्न पाउनेछन्।











