रेल विभागमा नयाँ नेतृत्व, महानिर्देशक बने अजयकुमार मुल

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। करिब एक महिना रिक्त रेल विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव अजयकुमार मुलले पाएका छन्। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत महानिर्देशकको जिम्मेवारी मुललाई दिएका हुन्। 

उनी राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजना निर्देशकका रुपमा कार्यरत थिए। मुलको सरुवापछि हुलाकी राजमार्गमा नयाँ आयोजना निर्देशक तोकिएको छैन। जेठ ४ बाट तत्कालीन रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालको अनिवार्य अवकाशपछि विभाग नेतृत्वविहीन थियो।

महानिर्देशक नहुँदा कर्मचारीले जेठ महिनाको लतब पाएका थिएनन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णय एवं भुक्तानी विषय प्रभावित भएको थियो। 

बुधबार नै मन्त्री महासेठले सडक विभागको महानिर्देशक पनि परिवर्तन गरेका छन्। विभागमा लामो समयदेखि उपमहानिर्देशक रहेका रामहरि पोखरेल सडकको महानिर्देशक बनेका छन्।

२०७९ फागुन ३ देखि महानिर्देशक रहँदै आएका सुशीलबाबु ढकाल मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखमा सरुवा भएका छन्। 

ढकाल मन्त्रालयको मूल्यांकन महाशाखामा आएपछि त्यहाँका उमेशबिन्दु श्रेष्ठलाई सडक विभागको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखमा सरुवा गरिएको छ। पोखरेल यसअघि मूल्यांकन महाशाखामा कार्यरत थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्