काठमाडौं । ठूला विद्युतीय बस सञ्चालन गर्दै आएको साझा यातायातले अब साना माइक्रो बस र स्कुटर पनि सञ्चालन गर्ने भएको छ। सोमबार ‘इलेक्ट्रिक’ साना माइक्रो बस र स्कुटर खरिदका लागि साझाले ठेक्का आह्वान गरेको हो।
२५ वटा माइक्रो बस र ५ वटा स्कुटरका लागि ठेक्का आह्वान भएको हो। स्कुटर र माइक्रो बस खरिद गर्न इच्छुक कम्पनीले ३० दिनभित्र अर्थात् जुलाई १० सम्म आवेदन दिन सक्नेछन्। माइक्रो बसका लागि ३० लाख र स्कुटरका लागि ३० हजार रुपैयाँ धरौटी राख्नु पर्ने सूचनामा उल्लेख छ।
माइक्रो काठमाडौं उपत्यका बाहिर छोटो दूरीमा सञ्चालन गर्न लागिएको साझा यातायातका सहायक प्रबन्धक जनक रिसाल बताउँछन्। हाल साझा यातायातले पुल्चोकमा चार्जिङ स्टेसन बनाएर ४२ सिटका ठूला विद्युतीय बस सञ्चालन गर्दै आएको छ। ४० वटा ठूला विद्युतीय बसमध्ये दैनिक ३२/३३ वटा सञ्चालन भइरहेको सहायक प्रबन्धक रिसालले बताए।
केही बस मर्मतमा बस्ने भएकाले ४० वटै बस एकै टक सडकमा सञ्चालन गर्न सम्भव नहुने उनको भनाइ छ। ठूला विद्युतीय बस उपत्यका भित्रमात्रै सञ्चालन भएका छन्। अब खरिद गर्न लागिएका विद्युतीय माइक्रो उपत्यका बाहिर सञ्चालन हुनेछन्।
न्युज कारखाना











