काठमाडौं । लघु बिमा कम्पनीहरूले ‘नेपाल लघु बिमक संघ’ नामक छुट्टै संघ दर्ता गरेका छन्। बिमा सेवालाई थप सहज र स्तरीय बनाउने उद्देश्यका साथ लघु बिमक संघ दर्ता भएको हो।
संघले नेपाल बिमा प्राधिकरणलगायत सम्बन्धित संघ–संस्थासँग सहकार्य र समन्वय गरी समावेशी बिमाको अवधारणालाई अगाडि बढाइने बताइएको छ।
गठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारी चयन भएका छन्।
यस्तै, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला, सचिवमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिइओ नरेशकुमार रोका र कोषाध्यक्षमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ रामकुमार यादव रहेका छन्।
ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सिइओ उज्ज्वल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सिइओ प्रतापमान श्रेष्ठलगायत भने कार्यसमिति सदस्य रहेका छन्।











