१० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा, आयात-निर्यात दुवै घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । १० महिनामै नेपालले साढे ११ खर्ब बढीको व्यापार घाटा बेहोरेको छ। चालू आर्थिक वर्ष २०८०/८१ को १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालले कूल ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ बढीको व्यापार घाटा बेहोरेको हो। 

गत आर्थिक वर्षको सोही अवधिको नेपालको व्यापार घाटा भने १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको व्यापार घाटा २.२६ प्रतिशतले कम हो। 

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको आयात र निर्यात दुबै घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा नेपालमा कुल १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। 
गत वर्षको सोही अवधिमा भने नेपालमा कुल १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्षको आयात २.३९ प्रतिशतले घटेको छ। 

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट भने कुल १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। गत वर्षको सोही अवधिमा भने नेपालबाट कुल १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो। गत वर्षको तुलनामा यस वर्षको सोही अवधिमा भएको निर्यात ३.६१ प्रतिशतले घटेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्