काठमाडौं। लगातार चार कारोबार दिन बढेको सेयर बजारमा बुधबार भने गिरावट आएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५४ अंकले घटेर २०१७.९७ को बिन्दुमा बन्द भएको हो।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से २८.६२ अंकले बढेर २०२७.५१ को बिन्दुमा बन्द भएको थियो। यसअघिका तीन कारोबारमा पनि नेप्से उकालो लागेको थियो। नेप्से सोमबार २४.३९ अंकले, आइतबार ८.२६ अंकले र गएको बिहीबार ५.६३ अंकले बढेको थियो।
बुधबार अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ। आज कुल ३ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने कुल ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ।











