काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। जमलस्थित चेम्बर भवनमा सम्पन्न ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए। दुई दशकदेखि चेम्बरमा आबद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ। उनी त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन्।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरेका छन्।
चेम्बरको नया“ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भए। यस्तै, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन्।
७३औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ। ७६ सदस्यीय चेम्बर कार्यसमितिमा मनोनीतबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्।











