काठमाडौं, चैत २२ । नेपाली फुटबलको तेस्रो श्रेणीको लिग शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी–३२ ले विजयी शुरुवात गरेको छ ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा आरसी–३२ फुटबल एकेडेमीले खालीबारी युथ क्लबलाई १ गोलले हरायो । आरसी–३२ का बबिन बोहराले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
गएको संस्करणमा आरसी–३२ तेस्रो हुँदै ‘बी’ डिभिजन लिगमा बढुवा हुन सकेको थिएन । खालीबारी भने गएको सिजनमा आठौँ स्थानमा थियो । गएको सिजन झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड पहिलो र दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएका थिए ।
आजदेखि शुरु भएको ‘सी’ डिभिजनमा १४ वटा टोली छन् । यस पटक काठमाण्डौ उपत्यकाबाहिरका पाँच वटा क्लबले खेल्दैछन् । सिङ्गल राउन्ड रोबिनका आधारमा ९१ वटा खेल हुनेछ । लिग कम्तीमा तीन महिना चल्नेछ ।
लिगको समाप्तिमा शीर्ष दुई टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । पुछारका दुई टोली रेलिगेशनमा पर्नेछन् । प्रतियोगितामा लिग विजेताले १० लाख, दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।











