म्याग्दीको घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ।
समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी–पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो। पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न सकिन्छ।
पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जंगल गण्डकी प्रदेशकै ठूलो मानिन्छ।
नेपालमा पाइने ३२ मध्ये यहाँ १६ प्रजातिका लालीगुराँस पाइन्छन्। वसन्तऋतृमा पाखाभरि ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ। घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृश्यावलोकन गर्न पुग्छन्। पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनासलु हिमालको अवलोकन गर्न सकिन्छ ।
घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ।











