सेयर मूल्य बढाउन लगानीकर्ताको मिलेमतोमा कसरी गरिन्छ चलखेल?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, चैत्र ७ । सामान्य थपघटका साथ नियमित कारोबार हुँदै आएको नेपाल टेलिकमको सेयर मूल्यमा माघ २२ मा एकाएक सकारात्मक सर्किट लाग्यो। टेलिकमको वार्षिकोत्सव कार्यक्रम चल्दै गर्दा एकथरी लगानीकर्ता कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाउने योजना बुनिरहेका थिए। सोही योजनाअनुरुप कारोबारको अन्तिम केही मिनेटबाँकी रहँदा टेलिकमको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लगाइयो। त्यसपछि १० प्रतिशतको वृद्धि गरियो।

माघ २१ मा ८६५ रुपैयाँ प्रतिकित्तामा कारोबार भएर बन्द भएको टेलिकमको सेयर मूल्य माघ २२ मा पहिलो कारोबार ८७० रुपैयाँमा भएको थियो। दिनभर कारोबार भइरहँदा न्यूनतम मूल्य ८६५ रुपैयाँ १० पैसासम्म झरेको टेलिकमको सेयर मूल्य बन्द हुँदा एकाएक बढाएर प्रतिकित्ता ९५१ रुपैयाँ ५० पैसा पुर्‍याइयो। यद्यपि, यो वृद्धि एक दिन पनि टिकेन। सर्किटको भोलिपल्ट अर्थात् माघ २३ मा टेलिकमको सेयर मूल्यमा ५.१० प्रतिशतको गिरावट आयो।

वार्षिकोत्सव पारेर माघ २२ मा टेलिकमको सेयर मूल्यमा कारोबार बन्द हुनु अन्तिम केही मिनेटअघि मात्रै योजनाबद्ध र मिलेमतोमा सकारात्मक सर्किट लगाइएको थियो। टेलिकमजस्तै चलखेल गत फागुन तेस्रो साता बिपिडब्लु लघुवित्त वित्तीय संस्था (बिपिडब्लु)को सेयर मूल्यमा पनि भएको देखिन्छ।

लामो समय सामान्य घटबढ भएको र अधिकांश दिन कारोबारसमेत नहुने यो कम्पनीको सेयर मूल्यमा लगातार तीन कारोबारमा सकारात्मक सर्किट लागेको थियो। गत फागुन १५ मा एकाएक १० प्रतिशतको वृद्धि भएर यस कम्पनीको सेयर मूल्य ११५३.९० रुपैयाँ प्रतिकित्तामा बन्द भयो। 

यसपछि फागुन १६ मा पनि कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि देखियो र प्रतिकित्ता मूल्य १२६९.२० रुपैयाँ प्रतिकित्ता पुग्यो। त्यसको भोलिपल्ट फागुन १७ मा पनि बढेर प्रतिकित्ता यस कम्पनीको सेयर प्रतिकित्ता १३०० रुपैयाँमा बन्द भयो। फागुन २० बाट भने ६.७६ प्रतिशतले घटेर प्रतिकित्ता सेयर मूल्य १२१२.१० रुपैयाँ सीमित भयो। 

यो कम्पनीको सेयर पछिल्लो आठ कारोबार दिनदेखि कारोबार भएको छैन। यसको पछिल्लो कारोबार फागुन २३ मा ११४१ रुपैयाँ प्रतिकित्तामा भएको देखिन्छ। यसरी लामो समयदेखि बढ्न नसकेका कम्पनीको सेयर मूल्यमा एकाएक सकरात्मक सर्किट लागेर भोलिपल्टै नकारात्मक बिन्दुतर्फ लम्किने गरेका उदाहरण नौला होइनन्।

सर्वसाधारणको सेयर स्वामित्व कम भएका, नेप्सेमा थोरै कित्ता सेयर सूचीकृत भएका कम्पनीमा यस्तो किसिमको प्रवृत्ति बढी देखिन्छ। विशेषगरी संस्थागत सेयर लगानीकर्ता तथा सेयर हिस्सा बढी भएका लगानीकर्ताले विभिन्न मौका पारेर कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाउने गर्छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्