गैरखाद्य भन्दा खाद्य वस्तुको मूल्यवृद्धि बढी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, फागुन २७ । गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिए पनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको छ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ७.८८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ।  घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १२.३३ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ। यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १.४१ प्रतिशतले घटेको छ। माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ र हिमालको ५.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्