सिंहदरबार निषेधपछि सडकमै सुते मिटरब्याज पीडित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ फागुन । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदलै हिँडेर २३ दिनपछि काठमाडौं उत्रिएका मिटरब्याज पीडितले संघीय सरकारलाई सिंहदरबारमा मागपत्र पेस गर्ने तयारी भए पनि प्रहरीले हस्तक्षेप गरेको छ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि अपूरो रहेको दाबी गर्दै उनीहरु पुनः न्यायका लागि काठमाडौं आएका हुन्।

न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडित भृकुटीमण्डपबाट सिंहदरबार जान लाग्दा प्रहरीले रोकेपछि सडकमै सुतेका छन्। आफ्ना माग पूरा गराउन विभिन्न नारा र प्लेकार्डसहित सिंहदरबार अघि बढेका उनीहरुलाई प्रहरीले रोकेको थियो। सिंहदरबार गएर आफ्ना माग सरकारलाई बुझाउन नपाएसम्म सडकमै सुतिरहने चेतावनी उनीहरुले दिएका छन्।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले महेन्द्रनगर र अर्को समूहले झापाबाट पैदलयात्रा थालेको थियो।

मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको उनीहरुको गुनासो छ। मिटरब्याज पीडितले सिंहदरबार जान नदिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्